तस्वीर कपीराइट Getty Images

कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या र त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या चीनभित्रभन्दा बाहिर धेरै पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमणको तथ्याङ्क राख्दै आएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनबाहिर सङ्क्रमितको सङ्ख्या ८७ हजार पुगेको छ भने चीनभित्र झण्डै ८१ हजार रहेको छ।

महिनौँ लामो कडा क्वारान्टीनजस्ता प्रावधानका कारण केही समययता चीनभित्र नयाँ सङ्क्रमण एवं मृत्युको सङ्ख्या घट्दो छ।

  • युरोपमा कोरोनाभाइरसबाट मृत्यु हुने मानिसको सङ्ख्या ह्वात्तै बढ्यो
  • महामारी नियन्त्रण गर्न स्पेनमा सङ्कटकाल, फ्रान्समा थप प्रतिबन्ध
  • कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अब युरोप
अन्यत्र निरन्तर

तर अन्यत्र भने यो निरन्तर बढिरहेको छ।

अमेरिकाका कैयन् राज्य तथा शहरहरूले भाइरस फैलनबाट रोक्न कडा उपाय अघि सारेका छन्।

त्यहाँका सबभन्दा ठूला दुई शहर न्यूयोर्क र लस एन्जलसले रेस्टुरेन्ट, बार तथा क्याफे बन्द गर्न आह्वान गरेका छन्।

न्यूयोर्क शहरमा स्कुल बन्द गरिएका छन्।

न्यूयोर्कका मेयर बील डे ब्लाजियोले निकट सामाजिक अन्तरक्रिया रोकेर भाइरसको सहज फैलावट रोक्न चाहेको बताए।

युरोपभरि सङ्क्रमण रोक्न झनझन् कडा नियम ल्याइएका छन्।

तस्वीर कपीराइट Getty Images

फ्रान्सको स्वास्थ्य सेवाका प्रमुखले स्थिति तीव्र गतिमा विग्रिरहेको बताए।

जर्मनीले फ्रान्स, अस्ट्रिया, डेन्मार्क, स्वीट्जर्ल्यान्ड र लक्जेम्बर्गसँगको उसको सिमाना आफ्नै देशका फर्किरहेका नागरिक तथा व्यापारीक सवारीसाधनका अतिरिक्त अन्य सबैका निम्ति बन्द गरिदिएको छ।

'खतरनाक साताहरू'

इटलीको प्रधानमन्त्री जुजेपे कोन्टेले आफ्नो देश प्रकोपको सबभन्दा खतरनाक साताहरूमा प्रवेश गर्दै गरेको बताएका छन्।

बीबीसी सम्वाददाता मार्क लोवेन भन्छन्, "इटली कोरोनाभाइरस सङ्क्रमणको तीव्र वृद्धि र त्यसको अर्थतन्त्रमा घातक असरको अन्तहीन चक्रमा फसेको जस्तो देखिन्छ। पूरै देश बन्दको अवस्थामा र अन्यत्रबाट उडान आवतजावत ठप्प भएको अवस्थामा कैयौँ व्यापारव्यवसायीले उठ्नै नसक्ने गरि थलिएको बताएको प्रधानमन्त्रीले जनाएका छन्।"

इटलीमा सङ्क्रमितको सङ्ख्या झन्डै २५ हजार अनि मृतकको सङ्ख्या १८ सय पुगेको छ।

त्यहाँका प्रधानमन्त्रीले विस्तृत पुनर्निर्माणको योजना आवश्यक भएको बताएका छन्।

देशको उत्तरी क्षेत्रका अस्पतालहरू पूर्ण क्षमतामा काम गरेर पनि भ्याइरहेका छैनन्।

ठाउँठाउँमा सघन उपचार सेवाका निम्ति पाल टाँग्नु परिरहेको छ।

इटलीमा भेन्टिलेटर निर्माण गर्ने एकमात्र उद्योगलाई चारगुना क्षमता बढाउन भनिएको छ।

हालसम्म विश्वभरिको १४८ देशमा यो सङ्क्रमण फैलिसकेको छ।

यसबाट ६५ सय जनाको ज्यान गइसकेको छ।

चीनपछि इटली, इरान, दक्षिण कोरिया र स्पेनमा यो धेरै देखिएको छ।